पहाड़ी फ़ोरम ट्विटर पर

फोरम के आगंतुकों की संख्या  

Website counter

* सर्वाधिक प्रविष्टिकर्ता सदस्य

Editor Garhwali
1465 Posts
Editor Kumauni
697 Posts
Girish
614 Posts
Rajesh Joshi
448 Posts
धनेश कोठारी धनेश कोठारी
336 Posts

* नवीनतम सदस्य

* सर्वाधिक देखे गये टॉपिक

* << पहाड़ी फोरम कैलेण्डर >>

November 2014
Sun Mon Tue Wed Thu Fri Sat
1
2 3 4 5 6 7 8
9 10 11 12 13 14 15
16 17 18 19 20 21 22
23 24 25 26 [27] 28 29
30

No calendar events were found.

Author Topic: नेपाली हास्य व्यंग्य - श्री दिलीप आचार्य (Dilip Acharya)  (Read 3018 times)  Share 

Offline Bijen

  • Full Member
  • ***
  • Posts: 134
    • View Profile
Read,
the above under this topi by Shri Dilip Acharya


Offline Bijen

  • Full Member
  • ***
  • Posts: 134
    • View Profile
लोडसेडिङ एक - फाइदा अनेक !

"गरिब आदमी अगर मजबुरी को मजाक न बनाए तो जीए कैसै !" कुनै एउटा हिन्दी कमेडी फिल्ममा सुनेको यो एक लाइन आजकल आफैँमा लागू हुन थालेको छ । बिहान उठ्ने बित्तिकै टुथपेस्ट र ब्रस भन्दा पहिला त्यस दिनको लोडसेडीङको तालीका हेर्नु पर्ने नियति र बत्ती जाने र आउने समयको निर्धारण गरेर मात्रै अन्य दैनिक योजना बनाउन पर्ने मजबुरीका बीच अभ्यस्त हुँदाहुँदा आजकल मैले पनि भाँडभैलोको राजनीतिमा रम्ने महान् नेताहरहको योग्यताका कारण विरासतमै पाएको लोडसेडीङका मजबुरी भित्र धेरै 'मजाक' भेट्न थालेको छु ।

हो, लोडसेडीङ खाली खराब मात्रै छैन्, यसका धेरै फाइदाहरू पनि छन् । मेरै कुरा गर्ने हो भने त आजकल मलाई यसका बेफाइदा भन्दा फाइदाहरू नै बढी लाग्न थालेका छन् । पत्याउनु हुन्न ?, ल हेर्नुस त लोडसेडिङका कत्ति फाइदाहरू छन् ।

फाइदा नम्बर एक-- धार्मिक क्रियाकलापमा वृद्धि:- तपाईँलाई लाग्ला सायद अयोग्यतम् नेताका योजना विहीन सोच र नालायकीपनका कारण विद्यमान लोडसेडीङ र धार्मिकता बीच के सम्बन्ध छ भनेर । तर नआत्तिनुस, म यसको सम्बन्ध पनि प्रमाणित गर्छु र यसका कारण भएको धार्मिक क्रियाकलापको वृद्धिलाई पनि सिद्ध गर्ने छु ।

मेरो आफ्नै कुरा गर्ने हो भने पनि बिहान उठेर नित्य कर्म पश्चात् कम्प्युटरमा झुम्मिने र इन्टरनेट वा टेलिभिजनका च्यानलहरू चहार्ने काम मजबुरीमा रोकिएकोले अचेल बिहानको बचेको समयमा मन ध्यान-धारणातिर जान थालेको छ । घर नजिकैको मन्दिरमा पनि लोडसेडीङ सुरु भएपछि घण्टी बढ्ने क्रम बढ्दै गएको प्रस्ट महसुस भएको छ भने, अनौपचारिक आँकडाले पशुपति-गुह्येश्वरीमा मात्रै हैन्, लोडसेडीङ जत्ति जत्ति बढ्छ बुढानिलकण्ठ र दक्षिणकालीमा समेत त्यही अनुपातमा दर्शनार्थीको लाम बढ्ने कुरा दर्शाउँदै छ ।

फाइदा नम्बर दुई-- पारिवारिक र सामाजिक सम्बन्धमा सुधार:- बत्ती आउन्जेल, भए काम र नभए टिभी हेरेरै आराम गर्ने बानी लागेका सबैजना, लामो समयसम्म बत्ती नआउने भएपछि समय बिताउन र बचेखुचेको नानाथरीका ऊर्जा जोगाउन पनि घरको एउटै कोठामा बसेर गफ्फिन थालेका छन् । काख-काखमै पुगेका ल्यापटप र कोठा कोठामा रहेका इडियटबक्सका कारण कहिल्यै फुर्सद नहुने परिवारका सबै व्यक्तिहरू लामा-लामा अध्याँरा रात र ऊर्जा बिचिन दिनका समय बिताउन एकै कोठा वा आसपासका छिमेकी र नातेदार कहाँ जम्मा हुन थालेका छन् । लोडसेडीङले असुविधा पैदा गरेको अनुपातमा यो पारिवारिक पृथकिकरण र सामाजिक विखण्डनबाट पुरै समाजलाई त्राण दिएको फाइदाको नै उच्च मूल्याङ्कन हुनुपर्छ भन्ने मेरो ठहर बलियो बन्दै गएको छ ।

फाइदा नम्बर तीन-- रचनात्मक सोचको विकास:- सुनिन्छ, बत्ती आऊन् जेलसम्म चाहिने नचाहिने रमझममै रमाउने नेपाली समाज आजकल अन्धकारले घर गर्दै गएपछि सोच-विचारका लागि प्रशस्त समय दिन सक्षम भएका छन् । बत्ती निभेपछि बिद्युतकै सहारामा गर्दै र चलाउँदै आएको कैयन् कामहरू कसरी बिना बत्ती गर्न सकिन्छ भनेर नयाँ नयाँ सोच र उपायहरू जन्मेका छन् । धोएर राखेको पाइन्ट इस्त्री नलगाइकन तन्काउन र क्रिज बनाउन डस्ना मुनि रातभर राख्ने प्रविधि र चलाउँदा चलाउँदा सक्कीएका थोत्रा पुराना ब्याट्रीहरूलाई घाममा तताएर वा अँगेनामा सेकाएरै भए पनि पुनः केही बेर प्रयोग गर्न मिलाउने तरिकाहरू पनि सायद यस्तै अन्धकारका उपजहरु होलान । अन्धकार यस्तै लम्बिदैं गएमा सोच मात्रै हैन, प्रविधि र केही समयपछि आवश्यक्ता र मजबूरीका बीचमा हामीले सन्देश आदानप्रदानका लागि टेलीप्याथी (दूरसंवेदन), स्वास्थ र आरोग्यका लागि योगका नयाँ नयाँ पद्धति, प्यास लाग्दा पानी नखाइ र खानेकुरा नपकाइ खान मिल्ने बनाउने सूत्र समेत पत्ता लगाउने छौँ भन्नेमा मेरो पूर्ण विश्वास छ ।

फाइदा नम्बर चार--जनस्वास्थ्यमा अनुकूल सुधार:- लोडसेडिङका कारण सानातिना अस्पतालमा शल्यक्रिया गर्न समेत समस्या भइरहेको बेलामा यो स्वास्थ्यमा सुधार आउने कुरा भने बुझ्न अलिकता दिमाग खियाउनै पर्छ । बिजुली बत्ती नदारद भएपछि यीनकै भरमा गरिने सम्पूर्ण कामहरू अचेल हातबाटै हुने गरेका छन् । इलेक्ट्रिक पावरमा निर्भर मानिस 'म्यान पावर' मा चल्न थालेपछि यथेष्ट व्यायाम भएकाले लोडसेडीङ बढ्न थालेपछि नेपालीहरूको स्वास्थ्यमा पनि अनुकूल सुधार देखिन थालेको छ । मानिसहरू तन्दुरुस्त, स्वस्थ र फुर्तिला देखिन थालेका छन् । लोडसेडिङ नहुने बेलाको तुलनामा, लोडसेडीङ बढेपछि को समय दाँजेर हेर्दा हस्पिटल, क्लिनिक वा औषधी पसलमा समेत सेवा ग्राही वा ग्राहकको चाप ह्वात्तै घटेको कुरा सूचकाङ्कहरूले देखाउँदै छन् ।

फाइदा नम्बर पाँच-सांस्कृतिक-भाषिक सुधार:- माथिका प्रतक्ष फाइदाहरु बाहेक लोडसेडिङका कारणले सांस्कृतिक-भाषिक तहमा पनि आमूल सुधार आउने क्रम जारी छ । यसका कारण जनमासनसमा कुराकानीको नयाँ विषय थपिएको छ। परिचित व्यक्तिहरू कतै जमघट हुँदा "नमस्ते" वा "के छ?" को सट्टा "बत्ति छ?" भन्न थालेका छन् । बिस्तारै नेपाली भाषाका शब्दकोषमा 'बत्ती छ?" भन्ने वाक्यांशले अभिवादनको स्थान लिँदै छ र यसकै कारण हाम्रो शब्द सङ्ग्रह बढ्ने छ । यसै क्रममा दिनभर बत्ती आउने दिनलाई जनमानसमा 'दीपक दिन' , तोकिएको समय भन्दा पहिलै बत्ती जाने अवस्थालाई 'शीघ्र गमन' र आक्कलझुक्कल भनेको समय भन्दा पहिले बत्ती आउने अवस्थालाई बताउन 'विस्मयागमन' भन्ने नयाँ शब्द बनेका छन् । यस्तै रीत चल्दै गएर अन्धकारको समयावधि अझ लम्बिदाँ नेपाली भाषाले प्रशस्तै नयाँ नयाँ शब्द पाउने छ भने नेपाली शब्दकोष नयाँ नयाँ शब्दालङ्कारले गर्दा समृद्ध र पवित्र हुँदै जानेछ ।

यी बाहेक कति यस्तै खाले फाइदाहरू आएका छन् र आउने क्रमामा छन् । खोज्दै र बुझ्दै जाँदा यीनका फेहरिस्त लगाउनु यो सानो पोस्टमा असम्भव नै हुनेछ । यी र यस्तै खाले धेरै फाइदाहरूको पत्तो पाएपछि आजकल म पनि लोडसेडिङ देखेर बिरक्तिने हैन्, लोडसेडिङ्गसँग रमाउन थालेको छु । ओहो! कुरा गर्दा गर्दै फेरि मेरोमा बत्ती नीभ्ने बेला भएछ । ल म यसको फाइदा उठाउन तिर लागेँ ......तपाईँ भने यी बाहेकका अरू फाइदाहरु सोच्दै गर्नुस.....



लेखक: दिलीप आचार्य
Source: http://dacharya.blogspot.com/2011/01/blog-post_29.html

« Last Edit: December 09, 2011, 01:43:31 PM by Bijen »

Offline Bijen

  • Full Member
  • ***
  • Posts: 134
    • View Profile
मैले नगरेका कसरतहरू !

(यस पोस्टमा लेखिएका सबै घटना र पात्रहरू वास्तविक हुन्। यी घटनाहरू अरू कसैको जिन्दगीसँग मिल्न गएमा सामान्य कुरा र न मिलेमा भने संयोग हुने छ ! )

कुरो आजभन्दा धेरै वर्ष अगाडिको हो । एस.एल.सि. सकेर रिजल्ट पर्खने बेलामा समय कटाउन दिनभरि गफ चुटेर बसिन्थ्यो । आजकल जस्तो फलानो, ढिस्कानो कोर्सको बाढी नआइ सकेको हुनाले त्यो समय कसै-कसैले कुनै भाषा प्रशिक्षण मा बिताउथे भने अरूहरूको भने अधिकांश समय गफ्फिन मै व्यतीत हुन्थ्यो तिन ताका । एकदिन कुरै करामा घर सँगैको एउटा साथीले यो बीचमा 'जिउ बनाउने' कुरो निकाल्यो । हुन त मन मनमा मलाई आफ्नो दुब्लो पातलो ज्यान केही गरे पनि बन्दैन जस्तो लाग्थ्यो, तर साथीले केही गरे पो बन्छ, गर्दै नगरे के बन्छ र? भने पछि लौ त नि, के गर्ने भनेर कुरो बढाइयो । उसले भोलिपल्ट देखि बिहान बिहान एक्सरसाइज गर्ने र जिउ बनाउने आइडिया निकाल्यो ।

मेरो घरको पुरानो भँडारमा खानतलासी गर्दा कतै पुरानो एक जोडि डमबेल (Dumbbell) फेला परे भने साथीले एउटा छाती चौडा पार्ने स्प्रिङको बन्दोबस्त गर्‍यो । अनि सबेरै उठेर ताजा अक्सिजन लीन दौडने र साँझमा घरैमा बसेर फलाम उचालेर मसल बनाउने निर्णय भयो । एक मनले त बल्ल बल्ल जाँच सक्केर केही आरामले सुत्न पाइएको छ, कहाँ फेरि बिहान बिहानै उठ्ने जस्तो लागेको थियो । तर फेरि उसको ४-५ महिना अलिकता समय बिताए कलेज जाने बेलामा हिरो जस्तो जीउडाल बन्ने भन्ने आकर्षक प्रलोभनले पनि उक्साइ रहेको थियो ।

त्यसैले ल जा त!, जे सुकै होस, भोलि देखि नै सुरु गरौं जिउ बनाउने काम भनेर बिहान ५ बजे उठेर स्वच्छ हावामा दगुर्ने र कसरत सुरु गर्ने निर्णय गरियो ।

यसै पनि जाडो महिना थियो। त्यसमा पनि भर्खर जाँच सक्केर ५-७ दिन मात्रै ७-८ बजे सम्म सिरक भित्रै बसेर एस.एल.सि. सक्केको हाइसन्चो मनाइरहेको बेलामा बिहान ५ बजे नै उठ्नु भनेको पहाड नै जस्तो लागेको थियो । झन् छिटै उठ्नुपर्छ भन्ने मनमा भएर भोलिपल्ट बिहान ४ बजेतिर नै निन्द्रा खुल्यो ।

बाहिर चिसो थियो र उठेर चिसो पानीले मुख धुन पनि सोच्नै पर्ने जस्तो स्थिति थियो । अघिल्लो दिन, बिहान जो पहिला उठ्छ उसले अर्कोको मा पुग्ने निधो भए पनि आ! यस्तो जाडोमा कहाँ निस्कने ! भन्ने सोचेर म फेरि सिरक भित्र घुस्रेँ । बरु साथी पनि मस्त निदाए हुन्थ्यो ! भन्दै कामना गरेर यसो झकाएको मात्रै थिएँ, एलार्म राखेर सुतेको साथीले ढोका ढकढकाउन थालि हाल्यो (कस्तो बेइमान साथी !)। अब त इज्जत जोगाउनै पनि उठ्नु पर्‍यो । त्यसपछि जसोतसो हात मुख धोएर दुबैजना निस्कियौं ।

दुबैजाना अनाडी, कति दौडने, कुन गतिमा दौडिने, कसरी दौडने कुनै हिसाब थिएन। बस्, अब जिउ बनाउने हो भन्दै न्वारन देखीको बल निकालेर जोर लागेसम्म आफ्नो पछाडि कोही बन्दुक लिएरै लखेटी रहेकै छ कि भन्ने जस्तो गरेर कुद्यौं । बिहानको दौड सकेर घर पुग्दा जाडो महिनामै पनि दुबै जनाको पसिना बगिरहेको थियो ।

दोस्रो दिन फेरि इज्जत जोगाउने हिसाबले म नै साथी भन्दा पाँच मिनेट अगाडि उठेर उसको घरमा पुगेँ । अनि फेरि चल्यो बेहिसाब, बल निकालेर दौडने उपक्रम । त्यसो त बाटोमा केही पुराना खेलाडीहरू सुस्त रफ्तारमा, तर हिँडेको जस्तो देखिने गरी छिटो-छिटो पाइलामा मर्निङ वाक गर्दै गरेको देखिन्थ्यो । तर साथीले यसरी बिस्तारै हिँडेर मेन्टेन मात्रै हुन्छ...जिउ नै बनाउने हो भने कुद्नै पर्छ भनेपछि हाम्रो रफ्तार गोल्ड मेडल पाउन ज्यान फालेर दौडिएको धावकको भन्दा कम हुँदैनथ्यो । घर नजिकै सानो गौचरनको चउर थियो (अहिले पनि छ है :), हामी घरबाट सिधैँ त्यही हानिन्थ्यौं । अरू पुराना कसरतकर्ताले चउरको २ चक्कर सक्दा नसक्दै हामीले भने ३ चक्कर पुर्‍याइ सकेका हुन्थ्यौं ।

साँझमा घरको छिँडीमा बसेर जोर चलेसम्म स्प्रिङ तान्ने र फलाम उचाल्ने काम पनि जारी नै थियो । सायद अरूले सुरुमा दुईटा, तिनटा गर्दै स्प्रिङ थप्दै लग्थे क्यार। हामीलाई भने छिटै ज्यानदार बन्नु परेकोले चार वटै स्प्रिङ राखेर दुई हातलाई सकेसम्म फैलाएर पाखुरा फुलाउने काममा लाग्यौ। चारवटा स्प्रिङलाई एकै चोटि जबरजस्ती तान्न खोज्दा कति पटक स्प्रिङले नै आफूलाई तानेको कुरा पनि अब भने सार्वजनिक गर्दा रमाइलै लागेको छ Open-mouthed smile।

डमबेल पनि सायद सुरुमा हल्का उठाएर पछि मात्रै अलिक भारी वजनको उठाउनु पर्ने हो, तर आफूसँग जे थ्यो, त्यही एउटै थियो । त्यसैले जत्ति बढि उचालिन्छ, त्यत्ति नै छिटो पाखुराको मसल पनि उठ्छ भनेर त्यही फलामको डल्लो बलजफत उठाउन थाल्यौं ।

२-४ दिन फलाम उचालेपछि पाखुराको मसल बढ्नु भन्दा पनि अलिकता भएको मासु पनि तन्किएर कता हरायो कता ! । छाती चौँडा होला भनेर तानेको स्प्रिङले आर्म्स र विङ्स बढाउनुको सट्टा भुँडीतिरको बचेखुचेको छाला पनि मादलको दुईछेउको तने जस्तो गरि तनक्क तन्केको थियो ।

वास्तवमा ५-७ दिनमा चमत्कार हुने कुरो केही थिएन र हामीले गरेको कसरत पनि एकदमै अनियमित र अव्यवस्थित थियो । त्यसैले केही दिनको तथाकथित कसरत पछि पेटको छाला तन्केर हलचल गर्दा र खोक्दा समेत पुरै जिउ नै तरङ्गित हुन थालिसकेको थियो भने, आफ्नै घरमा तल-माथि गर्दा पनि भरेङको हरेक खुड्किलो पार गर्दा पहाडै काट्नु परेको अनुभूति हुन थालेको थियो । तैपनि हिम्मत कायम राख्न कहिले उ मलाई तिम्रो विङ्स निक्लँदै छ! भनेर हौस्याउथ्यो त कहिले म उसलाई तिम्रो पाखुराको मसल अलि बडैकै हो है ! भनेर जोस्याउथेँ । घरमा एक्लै हुँदा सर्ट फुकालेर ऐना अगाडि उभ्भिएर हेरिन्थ्यो ... कता कता छातीको चौडाई २-४ एम.एम. बडैकै हो कि जस्तो पनि लाग्थ्यो। तर चियाको गिलास टेबुल देखि मुखसम्म पुर्‍याउने उपक्रम गर्दा र थालको भात मुख भित्र हुल्ने जोरजाम गर्दा समेत अङ्ग-अङ्गमा दबाब महसुस हुन थालिसकेको पनि थियो । केही दिनको निरन्तरता पछि कहिलेकाहीँ मनमा आ! व्यर्थमा के नचाहिँदो काममा लागिएछ! जस्तो पनि लाग्थ्यो भने । सुगठीथ शरीर लिएर नयाँ नयाँ कलेजमा छिर्दा हुने अनुभूतिको पूर्वाभासले अझै हौसला दिइरहेको थियो ।

हप्ता दिन जत्ति यसरी नै चलिरह्यो । कहिल्यै कसरत र शारीरिक श्रम नगरेको जीउको २०५ वटै जोर्नीहरू हावा लाग्दा पनि दुख्ला जस्तो भइसकेको थियो । आलो-पालो गरे बिहान कहिले म कहिले उ पहिला उठेर एक-अर्काको घरमा जाने क्रम चलिरहेको थियो । अचानक एक दिन उसको पालोमा उ मेरोमा आएन । आज साथी निदाए छ कि क्या हो भनेर म नै उसैकोमा पुगेँ ।

उसको कोठामा पुग्दा, सोचे भन्दा विपरीत दृश्य देखियो । जाडो महिनामा पनि चिट-चिट पसिना काटेर हनहनी ज्वरो आएको साथी खाटमा लखतरान सुतिरहेको थियो । उमेर पाको नभइ सकेको भए पनि, साथीको हालत देखेपछि यो एकसरसाइज गर्दा दुईसरसाइज भएकोले निम्तेको परिणाम हो भन्ने बुझ्न बेर लागेन ।

विस्तारै विस्तारै सुरु गरेर अलि अलि बढाउँदै लैजानु पर्ने शारीरिक कसरतको नियमलाई हामीले छिट्टै हिरो बडी बनाउने सोचमा त्वरित् विधिमा लान खोजेका थियौँ । अन्न पानीको शरीर न हो, यस्तो अव्यवस्थित भार कति दिन थेग्थ्यो । साथी ५-७ दिन राम्रै ओछ्यान पर्‍यो । आफ्नो घर-छिमेककै पुरानो साथी बिरामी परेकोमा मन खिन्न त थियो नै, तर भोलिपल्ट देखि बिहान बिहानै उठेर एक्सरसाइज गर्न जानु नपर्ने खुसीले भित्र भित्र मन कम्ता हर्षित भएन ... (क्रमशः...)


(अर्को भाग यता>>>)
लेखक: दिलीप आचार्य
Source: http://dacharya.blogspot.com/2011/11/blog-post.html

Offline Bijen

  • Full Member
  • ***
  • Posts: 134
    • View Profile
मेरो एगसरसाइजको कुरा


(अघिल्लो पोस्टको बाँकी)

एक्सरसाइज गर्दा दुईसरसाइज भएर लडेको साथी एक हप्तामै तङ्ग्रियो, तर त्यसको एक महिनासम्म पनि हामीले फेरि कसरत गर्ने कुरो समेत निकालेनौं । हुन पनि करिब हप्ता- दस दिन गरेको कसरतले एक महिनासम्म पनि खुब मस्त निन्द्रा लाग्ने बनाएको थियो शरीरलाई ।

करिब डेढ महिना जत्तिपछि एकदिन फेरि कुरै कुरामा अर्को एकजना स्कुलमा पढ्दा स्काउट मा लागेको साथीले ४-५ जना जम्मा भएर व्यवस्थित कसरत गर्ने कुरो निकाल्यो । वास्तवमा त्यो कसरतको लागि भन्दा पनि पट्यार लाग्दो लामो बिदाको टाइमपास गर्ने मेसो थियो त्यति बेला । हामी दुई भुक्तभोगीले अघिल्लो पटकको आफ्नो कथा बताएपछि उसले यो सब अव्यवस्थित तरिका अपनाएकोले भएको बताएर सुरुमा हप्तामा ३ दिन, अनि चार दिन गर्दै बढीमा पनि हप्तामा ५ दिन भन्दा बढि शरीरलाई श्रममा लगाउन नहुने बतायो । त्यस बीचमा डाइट ले पनि पेल्नु पर्ने र यो सबै मिलेमा मात्रै जिउ बन्ने बतायो । कुरो सुन्दा स्काउट साथी को कुरो चित्त बुझ्ने नै लाग्यो र फेरि ४-५ जना मिलेर एकदिन बिराएर सुरुमा हप्तामा ३ फलाम उचाल्ने सहमति भयो ।

हामी दुई सुरुमै आ-आफ्नो घरमा झन्डै-झन्डै ठूलै खप्की खानबाट बचेकाले अर्कै साथीको घरमा सबैले आ-आफ्नो घरमा भएको फलाम, स्प्रिङग, बालुवा भरेको बोरा र नाइनचक्कु समेत पुर्‍याएर राख्यौँ । सबै मिलेर २-४ सय पनि उठाएर डाइटको पनि व्यवस्था गरियो । अनि सुरु भयो व्यवस्थित कसरत ! । सुरूमा आइतवार, मङ्गलवार र शुक्रवार मात्रै पसिना बगाउने निर्णय पनि सर्वसम्मतिबाट पारित भयो ।

एकजना साथीको पुरानो घरको बुइँगल खाली थियो । त्यहाँ सबै समान जम्मा गरियो, एउटा थोत्रो स्टोभ र मट्टीतेल समेतको जोरजाम भयो । सुरुको दिन पाँचै जना उर्दीको समयमा हाजिर भयौं । कसैले स्प्रिङ, कसैले फलाम जे जे पाइन्छ त्यही त्यही उचाल्न र तान्न थाल्यौं । शरीरलाई साह्रो थकाउन नहुने मान्यता बोकेकोले यसपाला हरेक १० १२ मिनेटको अन्तरालमा हामी रोकिन्थौँ । अनि यसैगरी करिब आधा-एक घण्टा सक्केपछि थोत्रो स्टोभमा प्रशस्त अण्डा उमालिन्थ्यो । अण्डाका बोक्रा छोडिँदै गर्दा अर्कोले पानी उमाल्थ्यो र त्यसमा पाउडर दूध घोलेर मस्त अण्डा-दूधको डाइट दाबिन्थ्यो ।



हल्का व्यायाम, प्रशस्त आराम र यथेष्ट खानपानका बीच यसपाला राम्रैसँग चल्दै थियो कसरत ! । न कतै जिउ दुखेको आभास हुन्थ्यो, न त आलस्य वा झिजोपन । २-४ दिन बित्दै जाँदा साबिक भेटिने अड्डामा हामीहरु ४-५ जना भेटिएपछि अरू साथीहरूले पनि विस्तारै हाम्रो गाइँगुइँ सुनेछन् । अनि त के थ्यो....हाम्रो टोलीमा ह्वात्तै सहभागीहरूको वृद्धि भयो । ४-५ जनाबाट सुरु गरेको हाम्रो टोलीमा १०-१२ जना भए ।

सहभागिताको वृद्धिसँगै विस्तारै हाम्रो सर्जामको अभाव खट्किन थाल्यो । चार जनाले फलाम उचाल्ने र स्प्रिङ तन्काउने बेलामा अरू ५-७ जना त्यसै गफ्फिएर बस्नु पर्ने भयो । अनि त के थियो र? , व्यायामशाला विस्तारै गफशालामा परिणत भयो । करिब २ हप्ता जत्ति समय व्यतीत हुँदा सबैले घर-घरबाट ल्याएका पाइप, रड, फलामका डल्ला र सर्जामहरू कता कुनामा थन्की सकेका थिए र हाम्रो अड्डा गफ हान्ने थलोको रूपमा विख्यात भइसकेको थियो । अनि हाम्रो exercise पनि egg-ercise मा परिणत भइसकेको थियो

यदा-कदा भट्किएर आउने कसैले डमबेल खै? , भनेर सोद्धा हामी ...खै यतै होला नि ! हेर न ... भन्थ्यौ । भूँइमा कतै धेरै दिन रहेकोले स्प्रिङमा खिया लागिसकेको थियो भने १-२ जना बाठा साथीहरूले भने अब यहाँ एक्सरसाइज हुँदैन' भन्ने जानेर पहिल्यै आ-आफ्ना जिन्सी लगानी अड्डाबाट घरमा फिर्ता गरिसकेका रहेछन् । जिन्सी लगानी यता-उता परे पनि अड्डामा प्राय सबैको पकेट मनिको जोडदार लगानी भने जारी रहेकोले त्यहाँ अण्डा, बिस्कुट, पाउरोटी आदिको भने अभाव खट्किन पाएको थिएन । यता घरमा पनि बडि बिल्डीङ्ग सुरू गरिएको निहुँमा अरू समयमा भन्दा जोड गरेर दाना-पानी दाबिन्थ्यो (फेरि थला परिएला भन्ने डर पनि त थियो निभलै व्यायामको नाममा आराम मात्रै बाँकी भइसकेको थियो) भने उता अड्डामा पनि आ-आफ्नो लगानीको प्रचुर प्रयोग गरिन्थ्यो ।

जाडोको बिदा, परिश्रमरहित शरीर र पहलमानको भोजन निरन्तर जारी रहँदै गर्दा यता करिब एक महिनाको अवधिमा हामी किन त्यो अड्डामा जम्मा भएका थियौँ भन्ने पनि सबैले करिब करिब बिर्सी सकेका थिए । उता भने हप्ताको ३-४ दिन हैन, सातै दिन र त्यो पनि कहिलेकाहीँ दिनमै २-३ पटक अड्डामा जम्मा भइन्थ्यो । जम्मा भएपछि कसैले कसरतको क उठाउँदैन थे .... उठाइन्थे त चियाका कप र यता-उताबाट जम्मा भएका स्न्याक्स का टुक्राहरू ।

एकदिन त्यत्तिकै हिँडिरहँदा घर नजिकैका एकजना छिमेकी दाइले दिलीप ...तिमी कता हराएका थियौ.... मोट्टाएर पो फर्केछौ... भनेपछि भने झसङग भइयो । नभन्दै घर गएर ऐना अगाडि उभ्भिदाँ गाला अलि पुक्क पुक्क परेका र भूँडीले पनि उक्सने जोडदार तयारी गरिसकेको देखियो ! हेत् , कहाँ जिउ कस्याउन हिँडेको यहाँ त झन भूडीँ पो लाग्न थालेछ त .... मैले तुरुन्तै अड्डामा गएर आफ्नो अनुभव बताएँ । यसो हेरेको त यो करिब एक महिनाको समयमा सबैले २-३ किलो वजन बढाइ सकेका रहेछन् ।

कहाँ जिउ बनाउने र व्यवस्थित व्यायामको चक्करमा लागेको बेलामा भुँडी बढाउने उद्योग चालु भइसकको रहेछ । अब भएन भनेर सबैले फेरि एकदिन बोर्ड मिटिङ्ग गरे । धेरै दिन हराएर फेरि झुल्केको स्काउटे साथी ले यसपाला फेरि नयाँ प्रस्ताव अघि सार्‍यो । साथीहरू सबै जना एउटै कोठामा जम्मा भएमा गफ नै बढि हुने हुनाले अब भने घर बाहिर निस्केर दौड लगाउनै पर्ने उसको प्रस्ताव, मेरो र पहिलो एक्सरसाइज ताका थला परेको साथीको नोट अफ डिसेन्ट को बाबजूद पारित भयो ।

त्यो बोर्ड मिटिङ्ग भएको दिन शुक्रवार थियो । सबैले शनिवार एकदिन रेस्ट गरेर आइतवार देखि विहान ठीक ६ बजे देखि दौड सुरु गर्ने पक्का गरे ( शनिवार चाहीँ किन रेस्ट गरिएको थियो मलाई पनि था छैन्) । स्काउटे साथीले आईतबार विहान देखि आफ्नो पुरानो सिट्ठी बजाएर सबैको घर-घरमा गएर सहभागी जम्मा गर्दै कुद्‍दै गर्ने बतायो । यता म भने बाटो हिँड्दा वा कतै ट्राफिकले सिट्ठी बजाउँदा समेत आतङ्कित हुन थाली सकेको थिएँ


लेखक: दिलीप आचार्य
Source: http://dacharya.blogspot.com/2011/11/blog-post_29.html
« Last Edit: December 09, 2011, 02:00:54 PM by Bijen »

Offline Bijen

  • Full Member
  • ***
  • Posts: 134
    • View Profile
....र अनि नदौडेको कथा !

(अघिल्लो पोस्टको बाँकी)
...भोलिपल्ट बिहान मस्त निन्द्रामा थिएँ । घर बाहिर एकोहोरो सिट्ठी बजेपछि यसो घडि हेरेको बल्ल सवा पाँच भएको थियो । ह्या ! साँच्चिकै पो आए त ! भन्ने भाव लिएर जबरजस्ती उठेँ । घरमुनि नयाँ जोगीको बाक्लो खरानी भने जस्तै स्पोर्ट्स सुज, ट्र्याकसुट र टिसर्ट आदिमा सज्जिएका ५-७ जना जम्मा भैसकेका रहेछन् । लौ ... अब दौडिनै पर्‍यो भनेर बाँकी २-४ जनालाई पनि बटुलेर करिब दर्जनको सङ्ख्यामा हामीहरू हे ! हो ! गर्दै टोलको चक्कर काट्न थाल्यौँ ।

जाडो महिना कटि सकेको हुनाले खलखली पसिना आयो । करिब ४० मिनेट जत्ति कहिले हिँड्दै, कहिले दौड्दै र कहिले रोकिदैं गरेपछि उनै स्काउटे साथी ले आज यत्ति मात्रै गरौँ भनेपछि सबै घर घर लाग्यौँ । घर पुग्दा जिउमा खलखली पसिना आएकोले पहिला त नुहाउने काम भयो । त्यसपछि कोठामा आएर घडी हेर्दा ६ पनि बजेको रहेनछ । अहिले जस्तो टि भी, कम्प्युटर केही थिएन अब के गरेर टाइमपास गर्ने त ? । सोच्दै गर्दा चिसो पानीले नुहाएको जिउले जाडो भयो! भन्ने सन्देश दियो । अगाडि, बिहान हत्तार-हत्तार उठ्दाको नपट्याइएको सिरकले पनि च्यालेन्ज नै दिइरहेको थियो । तब त के चाहिन्थ्यो । फेरि दोस्रो सीफ्ट सुत्ने बाहेर अर्को कुनै विकल्प पनि रहेन र मज्जाले सिरक ओढेर सुतियो ।

दौडेर आएर थाकेको जिउ, दोस्रो सिफ्ट सुते पछि ठ्याक्कै साढे आठतिर मात्रै बिउँझिएँ (सायद सबैले त्यसै गरे होलान) । यस पटकको कसरत पनि यस्तै रह्यो.... बिहान एक छीन दौडियो अनि दिनभर कसरतको क पनि नगर्ने ।

भोलिपल्ट पनि यस्तै ताल भयो । बिहानै उठेर दगुर्‍यो.... अनि घर आएर मस्त सुत्यो । २-३ दिन यसै गरे पछि बानी पनि पर्‍यो । फेरि दगुरेर आएपछिको निन्द्रा पनि कम प्यारो थिएन !। करिब हप्ता दिन जत्ति चल्यो होला यस्तै तरिका ... त्यस बीचमा कहिले उपस्थिति ह्वात्तै बढथ्यो र बाटो हिँड्ने टोल-छिमेकीहरू पनि केटाहरूले केही गर्लान जस्तो छ भन्थे भने कहिले भने बाटोमा २-३ जना मात्रै पनि हुन्थ्यौँ । म पनि हप्ता-दस दिनमा २-३ पटक गएल भएकै हो ! । समग्रमा बिहान बिहान उठ्नु पर्ने भएकोले यो दौडमा रेगुलर भने कोही थिएन र दौडने क्रम भने जारी नै थियो । (खै, म नगएको कुनै दिन कोही पनि नआएर मैदान नै खाली पनि भाथ्यो कि Hot smile) ।

त्यसो त बीचमा १-२ पटक नियमित हुन र गराउन भेला पनि नभएको हैन् , तर न त सबैजना नियमित हुन सकेका थिए, न त सुरु गर्दाको जस्तो जाँगर सबैमा थियो । कथा र उपकथा केही भिन्न भए पनि हाम्रो ग्रुपमा सबैले १-२ पटक यस्तै जँड्याहाले जाँड र चुरोटेले चुरोट छाडे जस्तो गरी कसरतका थरी-थरीका प्रयोग गर्दै छोड्दै गरी सकेका रहेछन् । त्यसैले सबैको मनको एक कुनाले व्यायाम स्वास्थको लागि लाभदायक छ भन्ने जान्दा जान्दै पनि अर्को कुनाले भने ह्या....!, जिउ लाग्ने बेलामा आफैँ लाग्छ....यस्तो उछल-कुदले केही हुनेवाला छैन भन्ने सोचले सबैमा घर गरेको थियो । त्यसैले व्यायाम रोकिएको पनि थिएन भने चलेकै पनि थिएन । मतलब खेलाडीहरूको निरन्तर बदलावको बीच खेल जारी थियो ।

बीचमा स्काउटे साथी आफ्नो गाउँको घरतिर लागेको थियो र उसको ग्राम गमन पश्चात् बिहान जम्मा हुने समय र ठाउँको निश्चितता पनि विस्तारै भताभुङ्ग भएको थियो । वास्तवमा १०-१५ दिनको निन्द्रा खराब गरेपछि सबैको मनमा आलस्यले जरा गाडेको थियो । सबै जना जम्मा हुँदा, एक-अर्काको अगाडि आफूमा भरपूर फुर्ती र ऊर्जा भएको देखाउन खोज्थे भने, मन मनमा भने भोली बिहान मस्त सुत्न पाए पनि हुन्थ्यो वा भोली कसैले उठाउन नआए पनि हुन्थ्यो भन्ने सोचमा हुन्थे सबै ।

त्यस्तैमा बिहान घर घरै सबैलाई उठाउँदै हिडने मान्छे अरूभन्दा १० मिनेट जत्ति छिटो उठ्नु पर्ने भएको र एकै जनाले सो काम गर्दा सो व्यक्ति सधैँ अरूभन्दा छिटो उठ्नु पर्ने भएकोले पाँच मिनेट वा दस मिनेट मात्रै पनि बढि सुत्न पाईने लालसामा दिनै पिच्छे कसले कसलाई उठाउन जाने भन्ने पालो समेत लागिसकेको थियो । आफ्नो उठाउने पालो भएको दिनमा भने सबैले बलजफती भएपनि उठेर आफ्नो डिउटी पुरा गर्थे भने, अर्कोले उठाउन आउने दिनमा भने बिहानै उठनु पर्ने झन्झटबाट मुक्त हुन साथीहरू अघिल्लो दिनमा नै भोली मेरो बिहानै काम छ है वा भोली बिहानै बाहिर जानु छ भनेर मजाले घुर्ने जोरजाम गर्थे ।

हुन त दौडिन गएको दिनमा पनि घर फर्केर सुतिन्थ्यो नै, तैपनि बिहान उठनु नपर्दाको आनन्दको कुरै अर्को हुन्थ्यो । त्यसैले दौडन सुरू गरेको १०-१५ दिन पछी नै पहिले कहिल्यै कुनै काम नपर्ने र नगर्ने लाई समेत बिहान बिहानै जरूरी जरूरी काम पर्न थालिसकेको थियो । कुनै न कुनै बहानामा साथीहरू (म पनि) बिहान दौडिन नगइ सुत्ने गर्थे ।

विस्तारै विस्तारै धावकको सङ्ख्या घट्दै गयो र कुने बेला १२-१५ जना हुने समूहमा मुस्किलले ४ जना जत्ति मात्रै दौड्ने गर्थे ।

एकदिन बिहान सात बजे मात्रै आँखा खुल्यो, धेरै दिन सम्म गोलमाल तरिकाले सुत्ने र उठ्ने गरेकोले बिहान उठ्ने बित्तिकै यो पहिलो सिफ्ट वा दोस्रो सिफ्ट थियो ठम्याउन मुस्किल भयो । एकछिन पछि मात्रै प्रस्ट भयो त्यो पहिलो लामो सिफ्ट नै रहेछ ! । वास्तवमा त्यस दिन उठाउने पालो परेको साथी आफैँ मस्त निदाएछ र हामीले पनि उसैको कृपाले सुत्न पाएका रहेछौँ । त्यसदिन दिउसो भेट्दा सबैले उसलाइ त्यस्तरी सुत्ने भनेर हप्काए, तर मनमनमा भने सबैजना दङग थिए र भोलिको पालोवाला पनि निदाए पनि हुन्थ्यो भन्नेमा थिए ! ।

त्यसको भोलिपल्ट बिहान करिब ४ बजेतिर निन्द्रा खुलेको थियो ....त्यस दिन निन्द्राबाट बिउँझँदा कम्ता खुसी लागेन। बाहिर झम् झम् पानी परिरहेको थियो । छुट्टी !....आज त दौडनु परेन... मनमनै दङ्ग परेर सुते म... अरु पनि सुते । दिनमा भेट हुँदा कसैले कसैलाई दौडको बारेमा कुरै उठाएनन् । लगातार दुई दिन आरामले सुत्न पाएकोमा सबैजना मनमनै दङ्ग थिए ।

त्यसको भोलिपल्ट कसैले कसैलाई बिहान उठाउन आएनन् ...सब आरामले सुते । तेस्रो दिन पनि त्यस्तै भयो... .दुई, तीन दिन क्रमभङ्ग भएकोले उठाउने पालो कसको थियो भन्ने पनि गोलमाल भयो ...तैपनि बिहान ५ बजे नै कसैले घरको झ्याल मुनि आएर सिट्ठी बजाइ हाल्छ कि भनेर त्यसको ३-४ दिन सम्म ढुकढुक गरेर सुतियो । तर त्यो दिन पछि आजसम्म पनि फेरि कसैले कसैलाई उठाउन आएको छैन् । अनि मेरो कसरत पनि बन्दै भएको हैन ...खाली रोकिएको मात्रै छ...हेरौँ कुनै साथी कुनै दिन बिहान उठाउन आइहाल्छ कि Open-mouthed smile ।
(समाप्त)


लेखक: दिलीप आचार्य
Source: http://dacharya.blogspot.com/2011/12/blog-post.html
« Last Edit: December 09, 2011, 02:35:31 PM by Bijen »

Offline Bijen

  • Full Member
  • ***
  • Posts: 134
    • View Profile
भूतवक्ताका कुरा ।


शीर्षक देखेर लेख्ने मान्छेले झुक्किएर लेखेको हो कि भनेर सोच्नु भएको हो भने यो झुक्किएर राखेको शीर्षक हैन। हो, शब्दकोषमा खोज्नु भयो भने यो भूतवक्ता भन्ने शब्द कतै भेटिने छैन। तर शब्दकोषमा नभेटिएर के भयो त ? समाजमा भने खोज्नै नपर्ने गरी भूतवक्ताहरू प्रशस्तै पाइन्छन् । जति जना भविष्यवक्ता छन् कम्तिमा पनि त्यसको दोब्बरको सङ्ख्यामा समाजमा भूत वक्ताहरु हुन्छन् नै ।

अनि कहाँ हुन्छन् त यी भूतवक्ता भन्ने लाग्या छ भने नेपालमा मात्रै हैन्, अमेरिका देखि मलेसियासम्म र चिन देखि रसियासम्म सबै ठाउँमा हुन्छन् । भविष्यवक्ता भन्ने मात्रै सुनेको तर भूतवक्ता भन्ने शब्द सुन्नु नै भएको छैन भने यीनिहरु तीनै व्यक्तिहरू हुन्, जो कुनै घटना, दुर्घटना वा संयोग घटित हुने बित्तिकै मैले त पहिले नै भनेको थिएँ, यस्तै हुन्छ भनेर मलाई थाहा थियो वा मैले यस्तो हुन्छ भनेर पहिल्यै चेतावनी दिएको थीएँ भनेर निस्कन्छन् । मुखले यस्तै यस्तै नानाथरी भूत लक्षित तर्क गरे पनि वास्तवमा तिनले वर्तमानमा घटित भएको कुनै घटनाको वारेमा न त पहिलै कतै बोलेका हुन्छन्, न सोचेका हुन्छन् र न त आभास नै सम्म पनि पाएका हुन्छन् ।

यस्तै बिना कुनै तथ्य र पूर्व व्यक्त उदघोष आधारहिन तर्क दिने भएकाले यिनलाई चिन्न भने गाह्रो हुँदैन् । हुन त, १९९० सालको भुइचालो पछि पनि यस्ता धेरै भूतवक्ता निक्लेका थिए रे, जसले सो घटना घटी सकेपछि आफूले पहिलै भनेको, थाहा पाएको र चेताएको समेत दाबी गरेका थिए रे । तर आफू नै नजन्मेको बेलाका भूतवक्ता को कस्ता र कहाँ थिए यहाँ धेरै नलेखौँ । यस्ता भूतवक्ताहरु धेरैको निक्कै नजिक बसेको र बेला बेलामा उनीहरूका भूत वाणीहरु पनि सुनिरहे पनि मेले भने मास स्केल मा भूतवक्ताहरु देखेको पहिलो पटक राजा विरेन्द्रको वंश विलय भएको बेलामा हो ।

राजा विरेन्द्रको हत्या पश्चात् नेपालबाट मात्रै सात समुद्र पारी बाट समेत उनको हत्याको योजना बनेको थाहा पाएको, नेपालमा ठूलो दुर्घटना हुन्छ भने आभास भएको र राजदरबारमा अप्रिय घटना घट्ने भविष्यवाणी गरेको भन्ने जस्ता दाबेदारहरू लाजै नमानी समाजमा निक्ले । ती मध्य केहीले त नेपालको छापा र सञ्चार माध्यममा समेत आफूलाई भूतवक्ता भएको प्रमाणित गर्न पछि परेनन् ।

कुरो नेपालको मात्रै हैन, संसारकै विकसित मानिने राष्ट्र अमेरिका पनि ९-११ को हमला पछि सो घटनाबारे पूर्वाभास पाएका भनिने कैयौँ मानिसहरु निस्केका थिए । यस्तै गरी संसारको कुनै पनि कुनामा कुनै प्रसिद्ध व्यक्तिको हत्या हुँदा, कुनै हवाइजहाज क्र्यास हुँदा वा आँधी-वेहरी जाँदा र केही वर्ष अगाडि ईन्डोनेशियामा सुनामी जाँदा समेत घटना घटिसकेपछि पहिलै जानकारी भएको भन्ने हजारौँका सङ्ख्यामा भूतवक्ताहरू निक्लेका थिए र निक्लन्छन्।

यसमा नयाँ नयाँ भूत वक्ता हरेक नयाँ घटना पछि जन्मिने मात्रै नभई, बेला-मौकामा आफ्नो प्रचार प्रसार र विज्ञापन हुने हुनाले केही नाम कहलिएका ज्योतिष र सामाजिक व्यक्तित्वहरू पनि लाजै नमानी लाग्छन् । यही नव आगन्तुक भूतवक्ता र पुराना भविष्यवक्ता दुबैको जोड हुने भएकोले समाजमा भूतवक्ता जत्ति खोजे पनि पाइने र जहाँ खोजे पनि भेटिने गरी रहेका छन् ।

माथि भने जस्तै राजा विरेन्द्रको हत्या पश्चात्, आफ्नो मार्केटिङ हुने ठानेर नेपालमा केही रोटी ज्योतिषहरू पनि यस दौडमा सामेल भए । १-२ जना त यस्ता समेत निस्के, जसले निजी रूपमा राजा विरेन्द्रलाई भेटरै सो कुरा बताएको र सतर्कता अपनाउन समेत विन्ति चढाएका कुरा समेत गरे । मर्ने मानिस मरी सकेकोले सोध्न नमिल्ने र घटना भने घटी सकेकोले भूतवक्ताहरू यस्तो मौका प्राय: कुनै पनि हालतमा चुकाउन चाहँदैनन् ।

सामाजिक वृत्तमा मात्रै हैन, राजनैतिक क्षेत्रमा पनि यस्ता भूतवक्ताहरु टन्नै छन् । चुनावमा कुनै दलले जित्नु वा कुनै जित्ला भनेको उमेदवारले हार्नु मात्रै के पर्छ, वा कुनै सत्ता समिकरणको खेलका कारण नेपालको सरकारमा फेरवदल के हुनुपर्छ । आइग्लास, पात्रो, क्रिस्टल वा हातमा कुण्डली लिएका वा टाइ-सुटमा सजिएर ककटेल डिनर गर्दै गरेका सबैजना एकै स्वरमा बोल्न थाल्छन् ...हो त नि...यस्तै हुन्छ भनेर त मैले भनेकै हो नि ! । भन्नलाई जे जसो भने पनि यस्तै हुन्छ भने पनि तीनले कहिले कहाँ र कोसँग भन्याथे भनेर चाहिँ कुनै प्रमाण दिइरहनु पर्दैन । यही सुविधाका कारण सडक देखि सदनसम्म र मन्दिर देखि भट्टीसम्म जहाँ पनि कुनै नौलो वा नयाँ घटना हुने बित्तिकै भूतवक्ताहरुको चर्को स्वर सुन्न सकिन्छ : मैले जे भन्या थेत्यही भयो ल ! ।

यत्ति पढी सक्दा तपाईँको मनमा पनि पक्कै पनि धेरैजना भूतवक्ताहरुको तस्विरहरू प्रतिबिम्बित भएको हुनुपर्छ । एक महिनासम्म खडेरी पर्दा चुप लागेर बस्ने तर पानी पर्ने बित्तिकै मैले आज पानी पर्छ भनेर पहिलै भनेको थिएँ भन्ने भूतवक्ता, सत्ता समिकरणको दौडधूप महिनौँ चलिरहँदा मौन बस्ने र नयाँ सरकार बन्ने बित्तिकै मैले भनेकै जस्तै भएछ भन्ने भूतवक्ता, आफैँ भरेङबाट चिप्लने बेलामा भेउ नपाउने तर अरूलाई ठेस मात्रै लाग्दा पनि ल मैले पहिलै भनेको हैन लड्छौ भनेर.. भन्ने भूतवक्ता, आफ्नो जग्गा बेच्ने बेलामा कौडीको भाउमा बेच्ने तर भाउ बढेको थाहा पाउने बित्तिकै ल, मैले भने जस्तै भयो भन्ने सबै यस्तै भूतवक्ताहरु हुन ।

माथि नै भनिसकेँ, भूतवक्ता त भूतवक्ता नै भए, हामीकहाँ रहेका ९९% जत्ति भविष्यवक्ता पनि भविष्य वताउने हैन, भूतकालका कुरैमा जनता झुक्याउनेमा लागेका छन् । त्यसैले तपाईँले अझै पनि भूतवक्ताको पहिचान राम्ररी गर्न सक्नु भएको छैन भने नजिकैको भविष्यवक्ता कहाँ जानुस ....सुरुमै उनले तपाईँका भविष्यका हैन भूतकालका कुरा बताएर उनी भविष्यवक्ता हैन भूतवक्ता रहेछन् भन्ने कुराको सूचना दिइहाल्ने छन् । हैन भने केही समय कुर्नुस। देशमा कुनै घटना वा दुर्घटना भएपछि भूतवक्ताहरु त्यसरी नै निस्कछन् जसरी चुनावको अगाडि गाउँ-गाउँमा नेता !


लेखक: दिलीप आचार्य
Source: http://dacharya.blogspot.com/2010/09/blog-post_11.html

Offline Bijen

  • Full Member
  • ***
  • Posts: 134
    • View Profile
ब्लगरले किन ढिला लेख्छन् ?

अनौपचारिक गफ, हास्य व्यङ्ग्य                            लेखक: दिलीप आचार्य

ब्लग लेख्न थालेको चार वर्ष पुरा भइसकेको छ र मेरो आफ्नो ब्लग पाँचौं वर्षमा हिँड्दै छ । यस बीचमा कहिले हप्तामा ३-४ वटा त कहिले ३-४ हप्तामा एउटा पोस्ट समेत लेखियो । लेख्न थाले पछि विषय वा सामाग्रीको अभाव भने प्राय: खट्किएको छैन । तर पनि विविध कारणवश बेला बेलामा ब्लग लेख्न ढिला हुने गर्छ ।

मेरो मात्रै हैन्, मैले देखेको नेपाली ब्लग जगतमा रहेका मेरा सहयात्री पुराना ब्लगरहरू र नयाँ ब्लगरहरूमा समेत यो नियम लागु हुन्छ । नियमित लेख्ने ब्लगरहरू पनि कहिलेकाहीँ अनियमित हुन्छन् र ढिला लेख्छन् । त्यसैले आज म ब्लगरहरू किन ढिला लेख्छन् भन्ने बारेमा नै ब्लग लेख्दैछु । केही आफ्नै अनुभव, केही सहयात्री ब्लगरहरूको सोच अनि केही ठट्टा ... मेरो विचारमा ब्लगरहरूले ढिला लेख्नुमा यीनै कारणहरू नै प्रमुख छन् । केही छुटेको वा नपुग भएको भए तपाइहरू पनि थप्नुस है !

यो लेखौं कि त्यो लेखौँ: कहिलेकाहीँ ब्लगरसँग यत्ति विषय वा सर्जाम हुन्छन् कि ऊ यो लेखौं कि त्यो लेखौँ भन्नेमा नै निधो गर्न सक्दैन् । कम्प्युटरमा रहेका आधा-अधुरा गजल पुरा गर्ने कि, देशको जल्दो बल्दो विषयमा आलेख तयार गर्ने । आउँदै गरेको कुनै चाडको वारेमा लेख्ने कि दिमागमा रहेको नयाँ कथालाई उतार्ने । उ सोचमा नै व्यस्त हुन्छ र कुनै निधो गर्न सक्दैन् । त्यत्तिकैमा समय बित्छ यता उसको गजल पनि पुरा हुँदैन भने उता जल्दो बल्दो विषय पनि बासी भइसक्छ । सोच्दा सोच्दै आउँदै गरेको चाड बिति सक्छ र दिमागमा तयार कथाको प्लट पनि दिमागमै पुरानो हुन्छ । अनि ब्लगर ब्लग लेख्न ढिला हुन्छ ।

के लेखौँ, के लेखौँ : कहिलेकाहीँ स्थिति माथिको भन्दा बिलकुल विपरीत हुन्छ । काम, पढाइ वा अन्य विविध झमेलामा फसेको ब्लगर करिब करिब दिमाग शुन्य स्थितिमा हुन्छ । यति बेला विषय व विचारको विविधताले यो लेखौं कि त्यो लेखौँ हैन्, ब्लगरलाई के लेखौँ के लेखौँ हुन्छ । यदाकदा आइपर्ने यस्तो व्यस्तताको स्थितिमा ब्लगर आफैँ हैन, मैले पहिला पहिला कसरी दिनमा एउटा समेत ब्लग लेख्दो रहेछु भनेर गम खान्छ र फेरि पनि उ ब्लग लेख्नमा ढिला हुन्छ ।

कमेन्ट नै पुगेको छैन्: कुनै बेला ब्लगरले निकै मेहनत गरेर एउटा पोस्ट तयार गर्छ । मानवीय सोचको परिधि वा करिब करिब दार्शनिक कोटीको लेख तयार भएको अनुभव गर्छ । कहिले विज्ञानको नविनतम विषय वा कहिले भने राजनैतिक वृत्तको विचारोत्तेजक पोस्ट तयार भएको उसलाई लाग्छ । तर ३-४ दिनसम्म पनि पोस्टमा न त एउटा कमेन्ट आउँछ, न त कसैले लाइक गर्ने वा सामाजिक सञ्जालमा सेयर नै गर्छन् । आफ्नो त्यस्तो उत्कृष्ट पोस्टमा प्रतिक्रिया नदेख्दा उ सोच्छ सायद पाठकहरूले यही पोस्ट नै पढ्न भ्याएका छैनन् । उ पाठकहरूलाई आफ्नो सानदार पोस्ट पढ्ने समय दिन्छ र अर्को पोस्ट लेख्दैन (यही बीचमा उसका नियमीत पाठकहरूले समेत त्यो पोस्ट आधा भन्दा बढि पढ्न अल्छी मानेको कुरा भने उसले थाहा नै पाउँदैन्)

कमेन्टको ओइरोको पिर: हो, कहिलेकाहीँ प्रतिक्रिया नआएर समस्या त कहिले भने कमेन्ट धेरै भएर पनि टेन्सन हुन्छ । कुनै पोस्टमा कहिलेकाहीँ ब्लगरले सोचे भन्दा बढि चर्चा पाउँछ । अनि अर्को पोस्ट लेख्ने बेलामा ब्लगर त्यसलाई पनि अघिल्लो पोस्ट जस्तै स्तरिय बनाउने तर्फ सोच्छ । लेखि सकेको पोस्टमा शब्दालङ्कार, दर्शन वा आयतन र ओज थप्ने काममा लाग्छ । गर्दा गर्दै उसको पोस्ट फेरि ढिला हुन्छ ( अनि जबरजस्ती थोपरिएका शब्दालङ्कार, दर्शन वा आयतन र ओजनले पनि ब्लगलाई झन हल्का र फितलो बनाएको कुरा पनि उसलाई धेरै पछि मात्रै थाहा हुन्छ)

ह्या..लेखेर के नै हुन्छ र?: कुनै कुनै बेला बल्लगर लेख्दा लेख्दै थाक्छ। लगातारका ३-४ वटा पोस्ट फ्लप भएपछी उसको दिमागमा आ...... लेखेर के हुन्छ र? भन्ने विचार पलाउँछ । न म पत्रकार, न यो मेरो पेशा....किन लेख्ने त? भन्ने भाव मनमा दह्रो हुन्छ । हुँदा हुँदा उ बित्थामा ब्लग लेख्ने धुनमा यत्तिका समय खेर फालिएछ भनेर समेत सोच्छ । एकदिन अचानक कुनै जमघट वा भेटघाटमा उसलाई, उसले सोच्दै नसोचेको कुनै व्यक्तिले ओहो... तपाईँको अस्तिको पोस्ट त साह्रै घतलाग्दो थियो नि ! भनिदिन्छ । उसमा फेरि ब्लग लेख्नको उर्जा लबालब भरिन्छ । तर यति बेलासम्म उ फेरि ब्लग लेख्न ढिला भइसकेको हुन्छ ।


अरूले नि त लेख्या छैनन् नि त: ब्लगरको दिमागमा कहिलेकाहीँ वर्षातको च्याउ भन्द पनि बढि सर्जाम भरिन्छन् । उ फेरि यो लेखौँ कि त्यो लेखौँ को स्थितिमा हुन्छ । तर आफ्नो ब्लगमा भएको सहयात्री ब्लगरको फिडमा यसो नजर दौडाउँछ । करिब हप्ता दिन बित्न लागि सक्दा पनि सहयात्री ब्लगरहरू पनि कसैले केही लेखेका छैनन् । हैन अरुले नि त लेख्या छैनन् नि ऊ मनमनै सोच्छ । मैले मात्रै किन लेख्ने ....दिन दिनै लेख्यो भने अझ पाठक र साथीहरूले समेत आफूलाई ब्लग लेख्ने बाहेक केही काम नभएको बेकारी सम्झन्छन् कि भन्ने डर समेत मनमा पैदा हुन्छ र उ जुटी सकेको सर्जामलाई पनि पन्छाउँछ । उ फेरि पनि ब्लग लेख्न ढिला हुन्छ ।

ढिलै होस यसपाला धाँसू ब्लग लेख्छु : कुनै बेला ब्लगर अब चानचुने विषयमा कलम नचलाउने विचारमा पुग्छ । छिटो छिटो धेरै लेख्नु भन्दा एउटै तर दह्रो पोस्ट तयार गर्ने विचार गर्छ । दिनदिनै टाँसिएका सबै ब्लगरहरूको पोस्ट पढ्छ र यी सब भन्दा गहिरो र वजनदार विषय तयार गरेर मात्रै ब्लगमा पोस्ट गर्ने सोचमा पुग्छ । यही धाँसू लेख्ने कल्पना गर्दा गर्दै उसको सामान्य ब्लग पनि तयार हुँदैन् । होस् स्तरीय ब्लग समय समयमा लेख्दै गरौंला...अहिलेलाई नियमित हुन एउटा ब्लग पेल्दिउँ भनेर उ फेरि स्थीतिको धरातलमा फर्केर एउटा एभरेज पोस्ट तयार गर्छ । तर फेरि पनि उ ब्लग लेख्न ढिला भइसकेको हुन्छ ।

अरू पनि कारण छन् कि... लेख्नुस् है त

Source: http://dacharya.blogspot.in/2012/02/blog-post.html#more

Offline Bijen

  • Full Member
  • ***
  • Posts: 134
    • View Profile
कोठेगफ, हल्ला र हावागफ

अनौपचारिक गफ                            लेखक: दिलीप आचार्य

त्यसो त गफ, काठमाण्डौले मात्रै हैन, संसारका सबै सहर र सो सहरका बासिन्दाले गर्छन् । तैपनि काठमाण्डौको गफ भने भिन्दै हुन्छन् । यहाँ कहिले कुनै हल्लाले बजार तात्छ त कहिले भने बजार तातिसकेपछि मात्र हल्ला चल्छ । अचम्मको छ यहाँको गफ र हल्ला । कहिले कसैले आयोजन नै नगरेको बेलामा हल्लाकै भरमा नेपाल बन्द हुन्छ त कहिले भने नेपाल बन्द गर्ने प्रायोजक समेत पछि लाग्दा समेत काठमाण्डौ बासीले हल्ला मात्रै हो भनेर हिँडी दिँदा बन्द असफल बन्छ । कहिले आन्दोलन गर्ने हल्ला त कहिले हल्ला गर्ने आन्दोलन समेत चलेका छन् यहाँ ।

सरकार फेरिने हल्ला, पेट्रोलको भाउ बढ्ने हल्ला, संविधान बन्ने हल्ला र हुँदा हुँदा नेपालको संविधान विदेशमै तयार भइसकेको हल्ला समेत बेला बेलामा चल्छन् यहाँ । हल्लाकै पछि लागेर हल्लिने मात्रै नगरी हल्लाको तहसम्म पुग्ने कोसिस गर्दा हरेक हल्लाका स्रोत गफ हुने गर्छन् । चार जना पत्रकार र १०० जनाको भिड देख्ने बित्तिकै उत्तेजित विपक्षी दलका नेताले ४ दिनमा सरकार हल्लाइदिने गफ दिन्छ । उसको गफ उपस्थित समूहको प्रचार-प्रसारको सहयोगमा हल्ला बन्छ । अनि टोल टोलको चिया पसलमा मात्रै हैन्, चार पन्ने हावा छाप्ने देखि २४ पन्ने विज्ञापन राख्ने पत्रिका सम्ममा विशेष सूत्रको हवाला दिएर नयाँ सरकार बन्ने चर्चा चल्छ । आखिर गफ त गफ नै हुन्छ... २-४ दिनको हल्ला बनेपछि सो गफ हावागफ मा परिणत हुन्छ ।

फेरि कुनै दिन, साँझको भट्टी बसाईमा कुनै भातमाराले आफ्नो उचाइ बढाउन आफूले सबैसँग गम्भीर सल्लाह गरि रहेको र कुराकानी मिले ३ हप्तामै संविधान बन्ने गफ दिन्छ । भट्टीवाली माइली, साइली र दायाँ-वायाँ टेबुलमा बसेका हर्के विर्खे मात्रै हैन्, थकाइ मेट्न पुगेका खोयाबिर्के मिडियाकर्मीको कानमा समेत सो गफ पुग्छ । मान्छे भातमारा नै भएपनि पदमा पुगेको भातमारा भएकाले सबै जना उसको गफमा एकछिन झुकिन्छन् (त्यसमा सँगै बसेर खाएको बिजुलीपानीले पनि मद्दत गर्छ) र भोलिपल्ट बजारमा ३ हप्तामा नयाँ संविधान बन्ने हल्ला गरम हुन्छ । हल्ला सँगै फेरि अडकलबाजी र सन्देहको पनि बजार बढ्छ ।

४ वर्षमा न बन्या संविधान ३ हप्तामै कसरी बन्छ त ? । यस्तै यस्तै सङका र उप-शङ्काको थुप्रोबाट अर्को हल्ला चल्छ नेपालको संविधान विदेशमा तयार भैसकेको छ रे । चार-चार वर्षसम्म आफ्ना योग्यतम नेताको योग्यता देखि सकेका जनतालाई ३ हप्तामै संविधान बन्ने भन्दा पनि, विदेशमा बन्नेमा भने अझ बढी विश्वास लाग्छ । त्यसैले ३ हप्तामा संविधान बनाउने गफ दिएका भातमाराको हल्ला बाट निस्केको हल्ला भित्रको अर्को हल्लाले देशै हल्लिन्छ । खोया बिर्केले छाडिसकेपछि गफलाई हल्ला बनाउनेहरू आफैँलाई समेत यो हल्ला, हल्लाको अन्तिम अवस्था हावा गफ मा परिणत भैसकेको ज्ञात हुन्छ तर लेखिसकेको, बोलिसको र बताइसकेको कारण उनिहरू वाध्यात्मक परिस्थितिका बीच २-३ हप्ता सो हल्लालाई वर्करार राख्न तल्लिन हुन्छ ( के थाहा हल्ला-हल्लामै साँच्चै हुन्छ कि भन्ने अभिप्रायका साथ) ।

१-२ हप्ता पछि बजारमा अर्कैले गफ दिन्छ र विस्तारै फेरि त्यो गफ हल्ला बनिसकेको हुन्छ । अनि पुरानो हल्लाको बजार नयाँ फ्रेस हल्लाले लिन्छ ।

त्यसो त गफ दिएर हल्ला बनाउनेमा राजनीति कर्मी वा नेताहरू मात्रै हुँदैनन् । कहिले कुनै जोगी, बाबा वा खुर्सानी ज्योतिषले समेत संसार नै हल्लिने भन्ने हल्ला चलाएर पुरै नेपाल हल्लाउँछन् त कहिले भने कहिले भने कहिल्यै नाम नसुनेका हस्तिले समेत गफको बजारलाई हल्लाको माध्यमबाट गरम बनाएर राष्ट्रपतिसम्मको स्याबासी लिने वातावरण बनाउँछन् । यस्ता गफ दिने त्रिशुलबाबा र अनुजा जस्ताको गफले चर्चाको पराकाष्ठामा पुगेपछि अन्तमा सुपर फ्लप भएर हावा गफ नबनी सुखै हँदैन् । तैपनि न गफ दिनेले गफ दिन छाड्छन् न त हल्ला फेलाउनेले हल्ला फैलाउन ।

यस्ता कोठे गफलाई हल्ला बनाएर चर्चा कमाउने र अन्तमा टायँ टायँ फिस् हुने प्रक्रियाको थालनी कहिले देखि भयो भनेर खोज्न त इतिहास मात्रै पल्टाएर पनि पुग्दैन् । पौराणिक कथनमा समेत जानुपर्छ । पौराणिक कालमा पत्रकार नभए पनि नारद मुनिले यो कोठेगफ लाई हल्ला बनाउने जिम्मेवारी लिएकाले उनकै हल्लाको भरमा पनि कतिपटक देवा-सुर सङग्राम समेत भएको कथन छ भने, एकजना धोबीको कोठेगफले हल्लाको रूप लिँदा मर्यादा पुरुष भनेर चिनिएका रामले समेत आफ्नो पत्नी त्याग्न तम्सिएको कुरा यहाँ प्रासङ्गिक हुन सक्छन् ।

पौराणिक हल्ला छाडेर ऐतिहासिक हल्लामा आउने हो भने पृथ्वीनारायण शाहले काठमाण्डौ खाल्डो हान्नु अघि चलाएको हल्ला देखि राजा विरेन्द्रले निकालेका नेपाललाई एशीयाली मापदण्मा पुर्‍याउने हल्ला मात्रै हैन् नेपालका माओवादीले निकालेका दस वर्षमा १० हजार मेगावाट को हल्ला पनि खुव चर्चामा रहेका थिए ।

ती सबै हल्लाको मुहान खोज्दै हिँड्ने हो भने, सबै कुनै लहड, उत्तेजना वा गैह्र जिम्मेवारी कोठे गफबाटै निक्लेका हुन्छन् । जुन कहिले प्रयत्न सहित त कहिले प्रयत्न रहित नै हल्ला बन्छ र अन्तमा मात्रै थाहा हुन्छ कि यो केवल हावा-गफ नै हो । समष्टिमा हल्ला ज-जसले जुनसुकै बेलामा चलाए पनि त्यो अन्तमा हावा-गफ नै हुन्छ । बीचमा केही समय प्रयत्न जन्य परिवेश र परिस्थितिमा भने ठूलो हल्ला बन्छ ।

त्यसो त हल्लाको वृहत् अध्ययन गर्ने हो भने यसको वर्गीकरण पनि गर्नु पर्ने हुन्छ । जस्तै १० वर्षमा १० हजार मेगावाट को मोहक हल्ला, पानीमा विष मिसाइएको खतरनाक हल्ला, प्रधानमन्त्रीले राजीनामा दिने राजनैतिक हल्ला र सन २०१२ मा संसार नै विनाश हुने अन्तरराष्ट्रिय हल्ला आदि आदि । वर्गीकरण यत्ति मै सकिँदैन काठमाण्डौमा दोस्रो चक्रपथ बन्ने सदावहार हल्ला, नेपालको संविधान बन्ने अपत्यारिलो हल्ला,  अर्को हप्ता देखि ग्यास पाइने स्वप्नातीत हल्ला, नेताहरू एक जुट हुने असम्भव हल्ला, ...। यी सबै हल्लाको चर्चा यो सानो पोस्टमा असम्भव हुने र पोस्टलाई लम्बाउँदा यही पोस्ट पनि कोठेगफ बाट हल्ला समेत नबनी सिधै हावा गफ मा परिणत हुने डरले यसलाई यहीँ सक्काउँदै छु ।

मेरो कोठे गफ सक्कियो । अब यसको अन्तिम परिणति आफैँलाई थाहा भएकोले बीचमा हल्ला कति हुन्छ भन्ने मात्रै हेर्न बाँकी छ  ।


Source: http://dacharya.blogspot.in/2012/02/blog-post_27.html#more

Offline Bijen

  • Full Member
  • ***
  • Posts: 134
    • View Profile
पत्रिकाको समाचार र मनको भाव !

अनौपचारिक गफ, हास्य व्यङ्ग्य                            लेखक: दिलीप आचार्य

Advertisements... contain the only truths to be relied on in a newspaper. :~Thomas Jefferson

त्यसो त पत्रिकामा विश्वास योग्य कुरा विज्ञापन मात्रै हुन्छन् भनेर धेरै पहिले नै भनिए पनि  आजको समयमा पुग्दा यो वाक्य झन् झन् समसामयिक र सटीक भएका छन् । पत्रिकाहरूमा समाचार हैन। प्राय: हावा गफ, अडकल र हौवा छापिन्छन् । अनि अर्को उदेक लाग्ने कुरा के भने तीनै हावा गफ र हौवाहरू पनि बारम्बार दोहरिन्छन्, तेहरिन्छन्, चौरिन्छन् । र सायद विज्ञापन मात्रै विश्वास योग्य होलान् ।

यस्ता सम्म समाचार वा खबर पत्रिकामा छापिन्छन् कि तीनको विषयवस्तु वा सारको त कुरै छाडौं, शीर्षक मात्रै पढ्दा समेत सामान्य मानिसको अडकलले यो हावा गफ भनेर थाहा पाउँछ, भने किन यस्ता कुराले पत्रिकाको पन्ना भरिन्छन् भन्ने सोच समेत सबैमा पलाउँछ । यस बारेमा यो भन्दा पहिलेको अर्को पोस्टमा लेखि सकेकोले आज यसकै विस्तारमा नजाउँ । आजको पोस्टमा समाचार सार वा समाचार विस्तार हैन् , खबरको शीर्षक मात्रै पढ्दा पनि सामान्य अवस्थामा कस्तो सोच आउँछ भन्नेतिर लाग्दैछु ।

माथि नै लेखिसके, बकम्फुसे गफ पनि हामीले एक पटक दुई दुईपटक हैन्, एउटै पत्रिकामा समेत पटक पटक पढने गर्छौँ। लेखिनु पर्ने हुनाले वा छापिनु पर्ने हुनाले ती गफहरू लेखिएलान् र छापिएलान । तर यस्ता बारम्बार पुनरुक्त खबर वा गफको शीर्षक देख्दा पाठकको मनमा सुरुमै कस्तो भावना जन्मेलान त ? । अर्काको ठेक्का निलिउँ, मेरो मनमा भने प्राय: यस्ता खबर पढ्दा निम्न भावहरू उठ्छन् । त्यसैले आजको पोस्टमा केही दिन यता छापिएका समाचार शीर्षक र ती शिर्षक पढ्दा मेरो मनमा उठेको भाव जस्ताको त्यस्तै :

पत्रिकाको समाचार शीर्षक

शीर्षक पढ्दा उठेको भाव

नेपाल टेलिकमले एक करोड लाइन थप्ने   अब कसैले कसैलाई फोन नगरे भो
तीन दलको बैठक उपलब्धिविहीन    के अचम्म भो त ? ((यो कसरी समाचार भो ?)
गोकर्ण रिसोर्टमा तीन दल वार्ता आज   फेरि बिना काम सरकारी खर्चमा ऐस गर्ने भए
भोलिको बैठक पनि गोकर्ण रिसोर्ट मै हुने   यिनीहरु सिंह दरबारमा किन अट्दैनन् ?
नदी किनारका अतिक्रमित बस्ती साताभित्र हटाइने   
गफै त हो !

मन्त्रिपरिषदको बैठक आज बस्ने   फेरि के अनिष्ट हुने हो
ग्यास एक सिलिन्डरमै ५६३ रुपैयाँ घाटा   बोनस बर्कारार रहे त भैगो नि !
शिक्षा मन्त्रीले भने- परिणाम राम्रो हुँदैन   
कहिलेकाही त शुभ बोल !

लोडसेडिङ घट्दै जान्छः ऊर्जा मन्त्री   पानी परेको त मैले नि देख्या हो
जेठ १४ सम्म नबने ०४७ कै संविधान लागू : देउवा   
सल्लाह भैसक्या हो ?

हराएका जहाजका पांग्रा दिल्लीमा भेटिए    पाङ्ग्रा समेत त उतै तानिने रहेछन् नेता किन नजाउन
वित्तीय अपराध रोक्ने कानुन पास हुन सकेन    आफैले खनेको खाल्डोमा आफै परिएला भन्ने पिरलोले होला
प्रमुख तीन दलको बैठक बस्दै नबसी स्थगित    
धन्न खाजा खर्च जोगिएछ !

भाले किचेर मारेको विरोधमा चक्काजाम    
लैङ्गिक समानता कायम गर्न अब पोथी मार्दा नि बन्द हुने भो !

सरकारको नेतृत्वमा कङ्ग्रेसको पालो : एमाले अध्यक्ष खनाल   
टोकन कहिले बाँडिएको रहेछ ?

दुई हप्ताभित्रै सेना समायोजन भएर नयाँ सरकार हुन्छ   हा हा हा हा हा !
गाउँलेले चितुवा समाते   चितुवाले गाउँले समात्या भेपो अचम्म त !
आफ्ना कार्यकर्ताको हत्या भएको भन्दै एमाले सभासद्द्वारा संसद अवरुद्ध   
अर्काको कार्यकर्ता भा भे के मतलब ?

मैले कुर्सी छाडे झन् समस्या बल्झन्छ : प्रम    
पहिलाका पनि त्यसै भनेर बस्या भे तपाईँको पालो नै आउँदैनथ्यो

कार्यतालिका संशोधन गर्न तीन दल सहमत   कार्यताकिका संशोधन र म्याद बढाउने मै त होनि सहमति हुने
जेपी गुप्तामाथिको कारबाही 'बेमौसमको बाजा' : उपराष्ट्रपति परमानन्द झा   
मौसमी बाजा बजाउनेलाई मात्रै थाहा हुने कुरो रैछ

यो बिगत केहि दिनमा छापिएका खबरका शीर्षक देख्दा मेरो मनमा उब्जेका भावहरू हुन्छुटपुट थप्दै जानु होला

 

सुनें लाईव पहाड़ी रेडियो

* <<अद्यतन क्रिकेट स्कोर>>

* <<सरकारी नौकरी सूचना>>

     मुद्रा विनिमय परिवर्तन

* <<<<<------->>>>>